काठमाडौँ । चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो । समीक्षा अवधिमा रु २३ करोड ७२ लाख ७३ हजार बराबरको क्लिंकर र रु १८ करोड ५९ लाख १६ हजार बराबरको सिमेन्ट निर्यात भएको हो ।
सो अवधिमा दुई लाख ७२ हजार तीन सय २८ टन क्लिङ्कर र एक लाख ९२ हजार एक टन सिमेन्ट निर्यात भएको छ । सरकारले चालु आवको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै दुई सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् ।
गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको हो ।
नियमित निर्यात
पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् ।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएपनि हाल नियमित रुपमा निर्यात भइरहेको बताए। “ठूला चाडपर्वका कारण केही सुस्तता भएको थियो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो”, उनले भने ।
अर्घाखाँची ब्राण्डको सिमेन्ट पनि हाल भारतको युपी सहरमा निर्यात भइरहेको छ । पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टीलले साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् ।
सरकारले सिमेन्ट, स्टीललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु दश करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छूट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्याविधि पनि बनिसकेको छ ।
सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छूटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको हो । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।
सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करीब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।
निर्यात र विद्युत महसुलमा छूट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छूटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।