
दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँ वर्ष मनाएका छन् । कतार एयरवेज ग्रुपमा कार्यरत नेपालीहरूले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।
जागरूक युवा समाज नेपालले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरू सहभागी कार्यक्रममा नयाँ वर्षले नयाँ उमङ्ग थप्ने विश्वास लिँदै उनीहरूले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । जागरूक युवा समाज नेपालका संरक्षक रवीन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रूपमा क्यालेण्डको विमोचन गरेका थिए ।
रोजगारीको सिलसिलामा दोहामा ९ वर्षदेखि कार्यरत हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापका सन्तदेव मोक्तान साथीभाइ भेटेर नयाँ वर्ष मनाउन पाउँदा निकै हर्षित र खुसी छन् । उनले परिवारदेखि टाढा भए पनि यहाँको नेपाली समुदाय परिवार जस्तै भएकाले जमघट भएर नयाँ वर्ष मनाउँदा परिवारदेखि टाढा हुनुपरेको पीडा भुलेको बताए । त्यस्तै दोहामै कार्यरत हेटौँडा-६ का रुपनारायण सापकोटा पनि नयाँ वर्षमा जागरूकले मिलाएको जमघटले परिवारको याद भुलाएको बताउँछन् ।
कतार एयरवेज ग्रुपमा कार्यरत दिपेश आचार्य पनि विदेशमा हुँदा पनि नेपालमै भए जस्तो अनुभव भएको तर्क गरे । नयाँ वर्षमा बिहानै परिवारसँग भिडियो कल गरेर शुभकामना आदानप्रदान गरेका उनी यहाँ सबै जम्मा हुँदा परिवारमै बसे जस्तो अनुभव भएको बताए ।
यस्तै दोहामा कार्यरत चितवन राप्ती नगरपालिका वडा नं. ७ बिरेन्द्रनगरका लोक बहादुर पुन, तनहुँ भिमाद नगरपालिका-७ का हिरालाल विश्वकर्मा, गोर्खा सिरान चोक ८ का नविन थापामगर, बिदुर नगरपालिका ५ माझीटारका निरोज कुमार थापाको पनि अनुभव उस्तै छ ।
बिहान, दिउँसो, बेलुका र राती ड्युटीका सिफ्ट हुन्छ, यहाँ कार्यरत नेपालीले भने तै पनि मिलेसम्म साथीभाइ जम्मा भएर हामीले नयाँ वर्ष मनायौँ ।
कतारमा हाल चार लाख बढी नेपालीहरू कार्यरत रहेको बताइन्छ ।