खोटाङ । बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।
महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममाया राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।
दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको वडाध्यक्ष टङ्कराम राईले जानकारी दिए। बिरामी पदममायालाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करीब ३० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका-१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभूत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरु सोही बोलेरो चढेर अगाडि जानेक्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
घाइते तीनै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिए । दुर्घटना लगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।