एजेन्सी । अल-शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लडाकु मारिएका छन् भने अन्य धेरै जना घाइते भएका छन् ।
राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल-शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भीडन्तमा उनीहरू मारिएका हुन् । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । झडपमा सैनिक तथा समर्थक समूहमा भएको हताहतीबारे कुनै जानकारी दिइएको छैन ।
अल-शबाब चरमपन्थी समूहले भीडन्तका क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ । गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल-शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ ।
राष्ट्रपतिले अल-शबाब लडाकुहरूलाई परास्त गर्न सैन्य कारबाहीलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।