काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका हुन् ।
भेटवार्तामा कोसी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेशका प्रमुख तिलक परियार सहभागी थिए ।
भेटमा संघीयताको कार्यान्वय, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।