काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।
निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेकामा प्रमिला कुमारीले यसअघि नै निष्क्रिय बस्ने घोषणा गरिसकेकी छन्।
राष्ट्रपति वा उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ को को दफा १६ को उपदफा ५ मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ । यही धारालाई हेरेर केहीले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने बताइरहेका छन् । तर, कानूनमा यसबारे स्पष्ट व्याख्या नभएका कारण अन्यौलताको स्थिति सिर्जना भएको छ ।