काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्।
उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे। १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंश मच्चिने दाबी गरे।
‘अहिले १० दलीय गठबन्धनका नेताहरु संविधानको त्यो मर्मलाई मिच्न, महिला उत्थानलाई रोक्न, महिलाको अधिकार खोस्न, निर्वाचन आयोग त प्रयोग गरिसके अरु संस्था पनि प्रयोग गर्न सक्छन्। संविधानको मर्मको व्याख्या यो प्रश्न वास्तवमा सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्या सम्बन्धी प्रश्न हो यो,’ उनले भने, ‘त्यस लेखाइको अर्थ के हो, मर्म के हो, भावना के हो? सिंगो हाम्रो संविधानको दिशा निर्देश के हो? तदनुसार व्याख्या गरिनुपर्ने हो, तर त्यो देखिँदैन । १० दलिय गठबन्धनका जब १० टाउको एक ठाउँ हुन्छ त्यो भयंकर विदु्रप हुन्छ। १० वटा टाउको एकै ठाउँमा रावणको थियो, १० वटा टाउको एकै ठाउँमा भएपछि त रावण हुन्छ।’
ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । शाक्यलाई उपराष्ट्रपतिमा जिताउन हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एकरदुई जनालाई मिलाउनुपर्ने उनले बताएका छन् ।
एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेपनि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्का एक जनालाई मिलाउन सके शाक्य उपराष्ट्रपतिमा निर्वाचित हुने बताए ।