काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाका सम्बन्धमा दायर मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बिहीबार सुनुवाइ हुन सकेन । न्यायाधीश श्रेष्ठको इजसलामा परेका आठ वटै मुद्दाको स्थिति ‘बेन्च बस्न नभ्याएको’ उल्लेख गरिएको छ ।
ज्ञानेन्द्रराज आरणसहितले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि बिहीबार न्यायाधीश श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको थियो । न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा मुद्दा सुनुवाइमा हुँदा एकल इजलास बस्न सकेन। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।
सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका थिए ।