नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान सकिएको हो।
चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन् । संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुने आयोगले जनाएको छ ।
गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ।
मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।