काठमाडौं । विभिन्न आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् ।
बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताए ।
‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’उनले भने।
प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन ।
नेपाली कांग्रेसले भोलि बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत चर्चामा छन् ।