काठमाडौँ । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिए ।
महामन्त्री थापाले भने, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।” आ-आफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनःसाँझ ५ बजे बस्नेछ ।
बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ ।