
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट हतियार (एयर गन) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् ।
हिजो बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शङ्कास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो ।
उक्त हतियार र गोली सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार बरामद भएको उक्त एयर गन चरा मार्न, महोत्सवहरूमा बेलुन फुटाउनको लागि मुख्यतया प्रयोग गरिन्छ । यसको गोलीबाट मानिसको समेत मृत्यु हुन सक्ने प्रहरीहरू बताउँछन् । अन्य बन्दुक वा पेस्तोलजस्तो यसबाट गोलीको आवाज निस्कँदैन ।