
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको छ । रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानीको कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ ।
लामिछानेले राहदानी दुरुपयोग गरेको आरोप लगाउँदै सिन्धुलीका युवराज पौडेल (सफल) ले आज मंगलबार तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए । अदालतले लामिछानेको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । यद्यपि प्रहरीले उनको जाहेरी अध्ययन गरिरहेको भन्दै यो समाचार तयार पार्दासम्म दर्ता नगरिएको बुझिएको छ ।
नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी उक्त निवेदन अध्ययनकै क्रममा रहेको प्रहरी स्रोत बताउँछ ।
उजुरीमा लामिछानेलाई ५ वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाउन माग गरिएको छ । रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए। उक्त राहदानी लामिछानेले आइतबार राहदानी विभाग पुगेर फिर्ता गरेका छन् ।
‘रवि लामिछानेले नेपाली राहदानी कानूनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवम् दोहोरो राहदानी प्रयोग गरेको र तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसूर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाई कानुनी कारवाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु’, उजुरीमा भनिएको छ।