नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्। शनिबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए। एकीकृत समाजवादीले सरकारलाई समर्थन नगरे पनि सरकारले निरन्तरता लिने भएकाले समर्थन गर्नु उपयुक्त हुने अधिकांश नेताहरुको धारणा रहेको उनले जानकारी दिए।
उपमहासचिव तुलाधरले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति दिएर एमालेले पार्टी एकता गराउन लागेको भन्ने कुरालाई हावाको संज्ञा दिए। एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव यति छिट्टै नराख्ने उनको भनाइ छ।
उनले भने, ‘कहाँबाट कसरी आयो, यो हावामै आयो। हावामै गयो जस्तो लाग्छ। त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधवकुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रश्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन। त्यो गरेको पनि हो जस्तो मलाई लागिराखेको छैन। त्यस्तो खालको चर्चा कतै भएको भए हाम्रो पक्तिलाई भ्रमित पार्नको निम्ति ग¥यो भन्ने जस्तो लाग्छ।’
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठक आज साँझसम्म बस्ने एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जानकारी दिए।