नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री नबन्ने भएका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलमा आफू सरकारमा सहभागी नहुने बताएका हुन् ।
उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई बलियो बनाउने रहेको बताए । ‘अहिले मन्त्री बन्ने बेला होइन । म सरकारमा जान्नँ । त्यसैले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने हो,’ उनले भने । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भन्दा तल्लो वरियातामा माओवादी केन्द्रका पदाधिकारीहरू राजि नभएको समाचार यसअगाडि विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेको छ ।