रौतहटबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा घोषणा गरिएको उक्त पार्टीमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
नेकपा खारेजसँगै एमाले र माओवादी आ-आफ्नो अस्तित्वमा फर्किँदा उनी एमालेमै रहेका थिए भने गत ४ मंसिरका सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका किरण साह रहेका छन् भने संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा छन्।
यस्तै, प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह, पूर्व सांसद बद्री न्यौपाने विदेश विभाग प्रमुख रहेका छन्। नयाँ पार्टी निर्माणका लागि साहलाई न्यौपानेले दरिलो साथ दिए । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रूपान्तरण गरिएको साहले जानकारी दिए।