राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेकी छन् ।
आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो ।
उनले शुभकामना सन्देशमार्फत हाम्रा मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको जनाएकी छन् ।
यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ ।
राष्ट्रपतिले देउवाले आमा र सन्ततीबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै पर्व मनाउनुहुने सबैलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरिन् ।
यस पर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेकी हुन् ।