नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताए । उनका अनुसार शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना छ ।
गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।
विगतमा पनि केन्द्रिय बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्दै आएको थियो। गत वर्ष सरकार परिवर्तन भएका कारण मौद्रिक नीति ल्याउन केहि ढिलाइ भए पनि यस वर्ष भने पहिलो साता नै मौद्रिक नीति ल्याउने गरी तयारी गरिएको छ।
यसपटक केन्द्रिय बैंकले कडा मौद्रिक नीति ल्याउने तयारी गरेको छ। केन्द्रिय बैंकले केहि क्षेत्रलाई कस्ने गरी मौद्रिक नीतिको मस्यौदले तयार गरेको छ।
अहिले केन्द्रिय बैंकलाई बाह्य क्षेत्रलाई सन्तुलन राख्न, शोधानान्तर स्थिति सुधर्नका लागि कडा मौद्रिक नीति ल्याउन धेरैले सुझाएका थिए। व्यापार घाटा बढेर विदेशी विनिमय सञ्चिति घट्दै गएको अवस्थामा केन्द्रिय बैंकले त्यसलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने बताएको छ।
मौद्रिक नीति भनेको के हो?
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।