इण्डियन आयल कर्पोरेशनबाट नेपाल आयल निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको छ । उक्त मूल्यसूचीमा मट्टितेल बाहेक अन्य सबै प्रकारमा पेट्रोलियम पदार्थमा मूल्य दोहोरो अङ्कले घटेको हो ।
नेपाल आयल निगमले आज जारी गरेको विज्ञप्ती अनुसार पेट्रोल प्रतिलिटर रु १५.९२, डिजेल र हवाई इन्धन (बाह्य) रु १६.६९, हवाइ इन्धन आन्तरिकमा रु १६.७३ र खाना पकाउने ग्याँस सिलिण्डरमा रु १०.६४ ले घटेको हो ।
मूल्य घटेर आएको भएतापनि निगमलाई अझैपनि पेट्रोलमा रु १४.१९, डिजेल रु २१.९२, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ५८२.४२ रुपैयाँ घाटा भएको जनाएको छ । हवाई इन्धनमा भने निगमलाई नाफा छ । निगम अझै पनि महिनाको चार अर्ब ३२ करोड नोक्सानीमा रहेकोले पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ ।
पेट्रोलियम पदार्थ खरिद बापत भुक्तानी गर्नुपर्ने बक्यौता रकमलाई घटाउनको लागि नेपाल सरकारले असार ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार निगमलाई रु. ७ अर्व ऋण दिने निर्णय गरेको छ भने पूर्वाधार विकास शुल्क वापत २०७९ जेठ महिनाको शोधभर्ना बापत रु. ५९ करोड पनि फिर्ता दिने निर्णय भएको छ ।
साथै निगमले राष्ट्रिय वाणिज्य बैंकसंग रु. ३ अर्व ऋण लिने प्रक्रियामा रहेको छ।