भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने भएको छ । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोहीअनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए ।
नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।