कपिलवस्तु जिल्लामा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएका दुईवटा विद्यालय भवन उद्घाटन गरिएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका-९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको आज उद्घाटन गरिएको हो ।
शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशःसात सय र तेह्रसय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले आज त्यहाँ एक कार्यक्रम गरी विद्यालय उद्घाटन गरेका हुन् । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन अघि सारेको “ आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाइएको छ ।
शिक्षा क्षेत्रमा भारत-नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण भएको अधिकारीहरूले बताएका छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका पाँच गरी लुम्बिनी प्रदेशमा ६० वटा परियोजना छन् ।