अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार दक्षिण गेट अघि कालो झन्डा र ब्यानर प्रदर्शन गर्ने युथ काङ्ग्रेसका कार्यकर्तालाइ प्रहरीले गिरफ्तार गरेको छ ।
उनीहरूले ‘भ्रष्ट अर्थमन्त्री राजीनामा दे’लगायतका नारा लगाउँदै कालो झण्डासहित प्रदर्शन गरेका थिए । प्रहरीले १२ जना प्रदर्शनकारीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ ।
यूथ कांग्रेसका नेता मनोज पुरीका अनुसार उनीहरूमाथि ज्यादतीपूर्ण व्यवहार गरेर प्रक्राउ गरिएको हो ।
अर्थमन्त्री शर्मामाथि करको दर निर्धारण गर्दा खेताला विज्ञ राखेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
त्यसपछि उक्त दिनको सिसिटीभी फुटेज माग गर्दा उक्त फुटेज डिलिट भएको अर्थ मन्त्रालयले जनाएको छ । यस प्रक्रणमा सडकदेखि सदनसम्ममा राजीनामा मागिँदै आएको छ । तर अर्थमन्त्रीले राजीनामा नदिने दोहोर्याउँदै आएका छन् ।
नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायतका नेताहरूले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएका छन् ।
अर्थमन्त्रीले आज आफूमाथि उठेका प्रश्नको संसदको रोष्ट्रममा उभिएर जवाफ दिने तयारी छ । आज प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारीसमेत गरेको छ ।