एमाले समर्थित राष्ट्रिय युवा संघले अर्थ मन्त्री जनार्दन शर्माको बर्खास्ती र कार्बाहीको माग राख्दै प्रदर्शन गरेको छ। काठमाडौंको अनामनगरस्थित हनुमानथानस्थानमा मंगलबार प्रदर्शन गरिएको हो ।
राष्ट्रघाती अर्थमन्त्री विरुद्ध विरोध प्रदर्शन लेखिएको कालो ब्यानर बोकेर प्रदर्शनमा उत्रिएको राष्ट्रिय युवा संघले राजीनामा होइन, अब बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई समावेश गरेको विषय पेचिलो बन्दै गइरहेको अवस्थामा युवा संघले विरोध प्रदर्शन गरेको हो ।
शर्माले असार १४ गते राति पूर्वनायबसुब्बा रघुनाथ घिमिरेसहित ‘खेताला विज्ञ’राखेर बजेटमा चलखेल गरेको घटनाको सञ्चारमाध्यमले खुलासा गरेका थिए ।
जबकि करका दर र दायरा परिवर्तन गर्दा अर्थमन्त्रीका सल्लाहकारलाई पनि राख्न पाइँदैन। तर, उक्त परिपाटी लत्याउँदै पूर्वनासु घिमिरेलाई राखेर केही व्यापारिक घरानालाई फाइदा र केहीलाई बेफाइदा हुने गरी चलखेल भएको थियो।
तत्काल सीसीटीभी हेर्न पाउनुपर्ने माग संसद्मै उठ्यो। तर, अर्थमन्त्रीले त्यसलाई टार्दै आएका छन्। मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनपछि सीसीटीभी फुटेज अर्थमन्त्रालयले मेटाएको पत्र सार्वजनिक भएको छ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सचिव जयप्रसाद पौडेलले अनाधिृकत व्यक्ति प्रवेश गरेको दिन रातीको सीसीटीभी फुटेज माग्दा मेटिएको जवाफ मन्त्रालयबाट आएपछि अर्थमन्त्री शर्मा थप विवादित बनेका छन्।
प्रदर्शनकारीले ‘गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा’, ‘सिसिटिभी फुटेज हाम्रो अधिकार, राजीनामा होइन अब बर्खास्त गर’ लगायतका नारा लगाएका थिए।