नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज बढेको मूल्य सम्भवत् प्रतिलिटर बढाइएको यो सर्वाधिक ठूलो मूल्य हो ।
एकैपटक लिटरमा २७ रुपैयाँसम्मको मूल्यवृद्धि नेपाली इतिहासमा यो पहिलोपटक हुनसक्छ । आयगल निगमले आज एक विज्ञप्ती जारी गर्दै आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
यसअगाडि प्रेस रिलिज जारी गर्दा साँझको समयमा गरिने भएतापनि आज भने मध्यराततिर नै विज्ञप्ती जारी गरिएको छ भने विज्ञप्ती जारी गर्ने व्यक्तिको नाम हटाइएको छ ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
यो मूल्यवृद्धिसँगै यातायात भाडा, ढुवानी भाडा र हवाईभाडा बढ्ने निश्चित प्राय छ । सरकारले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकअन्तरगत कर लिएतापनि मूल्यवृद्धि कायम राख्दै जनतालाई मार पार्दै गइरहेको छ ।
पेट्रोलियम पदार्थमा खाना पकाउने ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले मध्यरातमा सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल आयल निगमको वेवसाइटमा राखिएको यस विज्ञप्ती अन्यत्र कतै बनाएर ह्वाट्सएप म्यासेजबाट वेवसाइट अपडेट गर्ने कर्मचारीलाई पठाइएको पाइएको छ । ती कर्मचारीले ह्वाट्सएपमा आएको पीडिएफ भर्सनको उक्त फाइलको नामपनि परिवर्तन नगरेर सिधै अपलोड गरेको देखिन्छ ।
खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।