सरकारले आर्थिक वर्ष २०७९-८० देखि करको दरलाई पुनरावकलोकन गरेर नयाँ दरहरू कायम गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत प्राकृतिक व्यक्तिले राज्यलाई तिर्ने करको दायरा फराकिलो पारेको हो ।
अबदेखि विवाह नगरेको एकल व्यक्तिले वार्षिक रु ५ लाखसम्मको कमाईमा १ प्रतिशत अर्थात वर्षको पाँच हजार मात्र कर तिरे पुग्नेछ । विवाहित दम्पतीको हकमा भने वार्षिक ६ लाखसम्मको कमाईमा एक प्रतिशत मात्र तिरे पुग्छ ।
एकल व्यक्तिको हकमा
कुनैपनि व्यक्तिले वार्षिक रु सात लाखसम्मको कमाई गर्दछ भने सुरुको पाँच लाखमा १ प्रतिशतका दरले पाँच हजार र बाँकी रहेको २ लाखमा १० प्रतिशतका दरले २० हजार गरी कूल २५ हजार कर बुझाउनुपर्छ ।
वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने व्यक्तिले सुरुको पाँच लाखको १ प्रतिशतका दरले ५ हजार त्यसपछिको दुई लाखको लागि १० प्रतिशतका दरले २० हजार र बाँकी तीन लाखको २० प्रतिशतका दरले ६० हजार गरेर कूल ८५ हजार वार्षिक रुपमा कर बुझाउनुपर्ने हुन्छ ।
वर्षको २० लाखसम्म कमाई गर्ने व्यक्तिको हकमा माथि उल्लेख गरेजस्तै १० लाखको ८५ हजार र बाँकी १० लाखको ३० प्रतिशतका दरले ३ लाख गरी तीन लाख ८५ हजार कर बुझाउनु पर्ने हुन्छ ।
वार्षिक २० लाख भन्दा बढी कमाई गर्ने व्यक्तिको हकमा २० लाखसम्मको रु तीन लाख ८५ हजार र त्यसमाथिको रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।
विवाहित व्यक्ति (दम्पती) को हकमा
विवाहित दम्पतीको हकमा वार्षिक रु ६ लाखसम्मको कमाईमा १ प्रतिशत अर्थात ६ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
कुनैपनि दम्पतीले वार्षिक रु आठ लाखसम्मको कमाई गर्दछन् भने सुरुको ६ लाखमा १ प्रतिशतका दरले ६ हजार र बाँकी रहेको २ लाखमा १० प्रतिशतका दरले २० हजार गरी कूल २६ हजार कर बुझाउनुपर्छ ।
वार्षिक रु ११ लाखसम्म आम्दानी गर्ने व्यक्तिले सुरुको छ लाखको १ प्रतिशतका दरले ६ हजार त्यसपछिको दुई लाखको लागि १० प्रतिशतका दरले २० हजार र बाँकी तीन लाखको २० प्रतिशतका दरले ६० हजार गरेर कूल ८६ हजार वार्षिक रुपमा कर बुझाउनुपर्ने हुन्छ ।
वर्षको २० लाखसम्म कमाई गर्ने दम्पत्तीको हकमा माथि उल्लेख गरेजस्तै ११ लाखको ८६ हजार र बाँकी ९ लाखको ३० प्रतिशतका दरले दुई लाख ७० हजार गरी जम्मा तीन लाख ५६ हजार कर बुझाउनु पर्ने हुन्छ ।
वार्षिक २० लाख भन्दा बढी कमाई गर्ने दम्पत्तीको हकमा २० लाखसम्मको रु तीन लाख ५६ हजार र त्यसमाथिको रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ ।
जीवन बीमाको सीमा बढ्यो ।
करदाताले करयोग्यआय गणना गर्दा आफूले तिरेको वार्षिक २५ हजारसम्मको जीबन बीमा प्रियममलाई घटाउन पाउने व्यवस्था रहेकोमा सो सीमालाई वृद्धि गरेर ४० हजार रुपैयाँसम्म घटाउन पाउने व्यवस्था गरिएको छ ।