१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।
सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कनकाई नगरपालिकामा प्रमुख र बाह्रदशी गाउँपालिकामा अध्यक्ष जितेको छ । बाह्रदशी र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ भने भद्रपुर नगरपालिकामा उपप्रमुख पद जितेको छ ।
आठ नगर र सात पालिकामध्ये दुई नगरको मत गणना सकिए पनि दमक, गौरादह, शिवसताक्षी, मेचीनगर, विर्तामोड र अर्जुनधारा नगरपालिकाको मतगणना जारी छ । गाउँपालिकातर्फ वुद्धशान्ति, कमल र गौरीगञ्जको मतगणना जारी रहेको छ । .
अघिल्लो स्थानीय तहमा एमालेबाट कन्काईका मेयर रहेका राजेन्द्र कुमार पोखरेल, राप्रपाबाट हल्दिबारीका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन पुन दोहोरिएका हुन् ।