विराटनगर महानगरपालिकामा ३२ हजार ७९७ मत गणणा हुँदा उपप्रमुखको झण्डै ४० प्रतिशत मत बदर भएको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार महानगरको उपप्रमुख पदको १३ हजार ५५ मत बदर भएको हो । जुन गणना भएको मतको ३९ दशमलव ८० प्रतिशत हुन आउँछ । यही अनुपातमा बदर हुँदै जाने हो भने अन्तिमसम्म यो प्रतिशत अझै बढ्ने देखिन्छ ।
प्रमुख पदमा केही कम प्रतिशतमा मत बदर भएको छ । बुढाथोकीका अनुसार प्रमुख पदमा ८ हजार ८२८ मत बदर भएको हो । जुन २६ दशमलव ९१ प्रतिशत हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार (वैशाख ३०) भएको मतदानमा ८९ हजार ६७८ मत खसेको थियो। कुल मतदाता १ लाख ३३ हजार १४२ रहेकोमा ६७.३५ प्रतिशत मत खसेको हो।
यसैबीच, विराटनगर महानगर प्रमुखमा गठबन्धनतर्फ नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन्। कोइरालाले १०३६३ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापाले ७८८२ मत पाएका छन्।
जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी उमेश यादवले ३३६१ मत पाउँदा राप्रपाबाट मेयरका उम्मेदवार बनेका प्रह्लाद साहले २१३४ मत पाएका छन्।
त्यसैगरी, विराटनगर महानरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्कीले आफ्नो अग्रता झन्–झन् फराकिलो बनाउँदै लगेकी छन्।
शिल्पाले सत्तारूढ गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवसँग अग्रता बढाउँदै लगेकी हुन्। शिल्पाले ८९९३ मत प्राप्त गरेकी छिन् भने अमरेन्द्रले ५६१८ मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २५६७ मत हासिल गरेकी छन् भने माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले १९४१ मत ल्याएकी छन्।