मोरङको विराटनगर महानगरपालिका प्रमुखमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार कोइरालाले आफ्ना निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाभन्दा १५ सय ५८ मतले अग्रता बढाएका हुन् ।
कोइरालाले ५५३२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले ३९७४ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १७ ५६ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले १०१४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की जसपा उम्मेदवार अमरेन्द्र यादव भन्दा १३८८ मतले अगाडि छिन् । कार्कीले ४५६३ प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अमरेन्द्र यादवले ३१७५ मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार विन्दा आचार्यले १२२२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९५८ मत प्राप्त गरेकी छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत वैशाख ३० गतेको मतदानपछि शनिबारदेखि विराटनगर–७ स्थित आर्दश स्कुलमा पहिलो चरणको मतगणना सुरु भएको थियो । प्रारम्भिक चरणमा वडा नं. १, २, १६, १७, १८ र १९ गरी ६ वडाको मतगणना थालिएको थियो । प्राप्त नतिजाअनुसार विराटनगरमा हालसम्म वडा नं. २, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ ।
जसअनुसार वडा नं. २ को अध्यक्षमा नेकपा (एमाले) का कुमार पोखरेल, १६ मा नेपाली काङ्ग्रेसका उद्ववकुमार भुजेल, १७ मा जनता समाजवादी पार्टीका समीम कमर, १८ मा स्वतन्त्रका जितेन्द्रकुमार साह र १९ मा नेकपा (एमाले) का श्याम घिमिरे निर्वाचित भइसकेका छन् ।
वडा नं. २ मा पोखरेलले ९२४ मत ल्याउँदा १६ मा भुजेलले ७५२, १७ मा कमरले १४५० र १९ मा घिमिरेले ९८७ मत ल्याएका छन् । विराटनगरमा हाल वडा नं. १ र १८ को मतगणना जारी छ । मतगणना सम्पन्न भइसकेको र नयाँ थप गरिएको केन्द्रमा क्रमशः वडा नं. ३, ४, ५, १४ र १५ को मतगणना सुरु गरिएको छ ।