देशैभरीबाट एमालेलाई पराजित गर्नको लागि सता गठबन्धनमा भएका दलहरू एकजुट भैरहेको अवस्थामा झापाको एक पालिकामा भने कांग्रेस र एमालेको गठबन्धन भएको छ ।
झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको हो ।
गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो । अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।
कालेन्द्र राजवंशी तीनै व्यक्ति हुन् जो २०७४ को स्थानीय तहको निर्वाचनमा राप्रपाका अन्जरा आलमसँग ४६३ मतले पराजित भएका थिए । आलमले ५८१६ मत ल्याएर पालिकाको अध्यक्षमा विजयी हुँदा राजवंशीले ५३५३ मत ल्याएका थिए ।
कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।