नेपाललाई कृषिप्रधान देश भनिए पनि यहाँका नागरिकमा अरू सामग्रीझैँ कृषि उपजहरूमा पनि परनिर्भर भइरहनु पर्ने बाध्यता छ । आन्तरिक उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि त्यसलाई प्रयोग गर्न नसक्दा हरेक वर्ष परनिर्भरता बढ्दो छ । परनिर्भरताकै जालोमा फसेका कारण हामीसँग पैसा अडिँदैन ।
हुँदाहुँदै हामी मकैमा पनि परनिर्भर बन्न थालेका छाैँ । झन्-झन् मकैमा परनिर्भरता बढ्दो देखिएको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । भारतदेखि अमेरिकासम्मबाट अर्बौं रुपैयाँको मकै नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
मकै, मध्य पहाडको लागि प्रमुख र राष्ट्रियस्तरमा दोस्रो खाद्यान्न बाली हो । मकै तराईदेखि हिमालसम्म जुनसुकै भौगोलिक अवस्थामा पनि लगाउन सकिन्छ । फस्टाउँदो कुखुरा तथा पशुपालन व्यवसाय एवम् मकैलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने उद्योगहरूको बढ्दो सन्दर्भमा मकैको माग दिन प्रतिदिन बढ्दो छ ।
तर नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठुलो परिमाणमा विदेशबाट आयात हुने गरेको हो । धान-चामलपछि उच्च आयात भएको कृषि वस्तुमा मकै पर्छ । धान-चामलजस्तै मकैको आयात पनि भारतबाट नै उच्च मात्रमा भएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ मा भारतबाहेक बङ्गलादेश, युक्रेन, म्यानमार, पाकिस्तानलगायत देशबाट मकैको आयात देखिन्छ । भारतबाहेक नियमित आयात हुने मुलुकहरूमा अर्जेन्टिना, ब्राजिल र अमेरिका रहेको तथ्याङ्कले देखाउँछ ।
एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेकोछ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको मकै आयात हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । व्यापार तथा निकाशी प्रवर्द्धन केन्द्रबाट उपलव्ध आठ वर्ष (चालु आवसमेत)को तथ्याङ्क नियाल्ने हो भने नेपालमा वार्षिक रूपमा ७ देखि १२ प्रतिशतका दरले मकैको आयात बढिरहेको छ ।
आर्थिक वर्ष २०७१/७२ देखि चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा आव ७१/७२ मा ९ अर्ब ७० करोड रुपैयाँ मूल्यबराबरको मकै आयात भएकोमा आव ७२/७३ मा ६.९६ प्रतिशतले वृद्धि भएर १० अर्ब ३८ करोड, आव ७३/७४ मा ११.९७ प्रतिशतले वृद्धि भएर ११ अरब ६२ करोड, आब ७४/७५ मा ८.३९ प्रतिशतले वृद्धि भएर १३ अर्ब ६० करोड, आव ७६/७७ मा ११.४८ प्रतिशतले वृद्धि भएर १५ अर्ब १६ करोड र अघिल्लो आबमा पनि लगभग सोही परिमाणमा मकै आयात भएको देखिन्छ ।
तर चालु आर्थिक वर्षको बितेको आठ महिनामा १३ अर्ब ३० करोड रुपैयाँभन्दा बढी मूल्यको मकै आयात गरिएको छ । यही अनुपातमा बढ्दै जाने हो भने चालु आर्थिक वर्षको मसान्तसम्म मकैको आयात १६ अर्ब नाघ्ने प्रक्षेपण गर्न सकिन्छ ।
भन्सार विभागले २०७८ साउनदेखि फागुननसम्मको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गर्दै यो अवधिमा १३ अर्ब ३० करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको मकै आयात गरिएको जनाएको छ ।
आठ महिनामा नेपालमा नौ देशबाट नेपालमा मकै आयात भएको देखिन्छ । सबैभन्दा बढी भारतबाट तीन लाख ७४ हजार २९५ क्विन्टल मकै आयात गर्नको लागि १२ अर्ब १८ करोड ४५ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । त्यहाँबाट आयात गरिएको मकैको प्रतिकेजी मूल्य ३२ रुपैयाँ ५५ पैसा पर्छ ।
भारतपछि परिणाम र मूल्यका हिसाबले क्रमशः अर्जेटिना, दक्षिण अफ्रिका, टर्की, अमेरिका, ब्राजिल, क्यानडा र इन्डोनेसियाबाट नेपालमा मकै आयात भएको देखिन्छ ।
तथ्याङ्क हेर्दा अर्जेन्टिनाबाट ८२ करोड ७४ लाख दक्षिण अफ्रिकाबाट १४ करोड ५८ लाख टर्कीबाट ९ करोड ४४ लाख अमेरिकाबाट २ करोड ७७ लाख ब्राजिलबाट २ करोड १५ लाख क्यानडाबाट ६६ लाख र इन्डोनेसियाबाट ६ हजार रुपैयाँ मूल्य बराबरको मकै पछिल्लो आठ महिनाको अवधिमा नेपाल भित्रिएको देखिन्छ ।
यो अवधिमा इन्डोनेसियाबाट आयात गरिएको मकैको मूल्य सबैभन्दा कम छ त्यहाँबाट प्रतिकिलो ३० रुपैयाँका दरले मकै आयात भएको देखिन्छ भने भारतबाट प्रतिकेजी ३२ रुपैयाँ अर्जेन्टिनाबाट ८५ रुपैयाँ ३१ पैसा, दक्षिण अफ्रिकाबाट ८७ रुपैयाँ ९३ पैसा, टर्कीबाट ८८ रुपैयाँ ३० पैसा, अमेरिकाबाट ८४ रुपैयाँ ७८ पैसा र क्यान्डाबाट आयात भएको मकैको मूल्य प्रतिकेजी ८४ रुपैयाँ ९२ पैसा परेको छ ।
मकैबाहेक, मकैको बीउ, मकैको पीठो, स्विट कर्न (फ्रोजन मकै), मकैको च्याँख्ला पनि ठुलो परिमाणमा आयात भएको देखिन्छ ।
मकैका लागि भारत पुग्यो एक खर्ब रुपैयाँ
आर्थिक वर्ष २०७१/७२ देखिको तथ्याङ्कअनुसार भारतबाट झन्डै एक खर्ब रुपैयाँ बराबरको मकै, मकैको बिउ, स्विट कर्न, मकैको पिठो र च्याख्ला नेपालमा आयात भएको देखिन्छ ।
राष्ट्रिय योजना आयोगले २०७७ सालमा सार्वजनिक गरेको कृषिजन्य वस्तुको आयात निर्यातको अवस्था सम्बन्धित प्रतिवेदन २०७७ मा नेपाल कृषिप्रधान देश भएतापनि बेसारदेखि चामलसम्म आयात भएको जनाएको छ । प्रतिवेदनमा उच्च आयात भएका वस्तुमध्ये खाद्य पदार्थ पाँचौँ स्थानमा हुनु कृषिमा आश्रित देशको लागि दुखद भएको टिप्पणी गरेको छ ।
दानाको लागि पनि मकै आयात
पछिल्लो समयमा नेपालमा पशुपक्षी व्यवसाय फस्टाउँदै गएकाले दानाको लागि पनि मकैको आयात बढेको हो । कुखुराको दाना, गाई, भैँसीहरूको दाना बनाउनको लागि मकैको प्रयोग हुने भएकाले मकैको आयात बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक जीवन श्रेष्ठ बताउँछन् । केटिएम दैनिकसँगको सम्पर्कमा श्रेष्ठले बने “नेपालमा कुखुराको दाना, गाईबस्तुको लागि चोकर र अन्य औद्योगिक उत्पादनको लागि विदेशबाट मकै आयात गरिन्छ ।”
मकैको प्रयोग
गहुँ र धानपछिको तेस्रो महत्त्वपूर्ण अन्न बाली हो, मकै । मकै मानव खाद्यान्न, पशुआहार, औद्योगिक कच्चापदार्थ तथा इन्धनकोरूपमा पनि प्रयोग हुन्छ । मकैको आँटा, खिर, पकौडा, कुकिज्, ससेज, सुप, चिप्स र विभिन्न मदिराजन्य पदार्थ तथा यसको पिठोको रोटी, चापती, केक, आदि जनमानसमा प्रचलित छन् ।
त्यस्तै, कलिलो मकै पोलेर, उसिनेर र भुटेर खाने प्रचलन पनि व्यापक छ । साथीभाइको जमघट होस् या सिनेमाघरको मध्यान्तर, जाडोयाममा घाम ताप्दै होस् या अन्य कुनै सिजन, पट्पट् फूल उठेका मूरली मकैका मोहमा नपरेका सायदै कोही होलान् ।
हरिया घाँसको अभावको बेला मकै भाँचिसकेपछि बाँकी रहेका ढोड वस्तुभाउलाई खुवाउन, विशेषत हाम्रो जस्तो निर्वाहमुखी साना किसानहरू भएको देशमा अति उपयोगी मानिन्छ । त्यसैगरी, हिउँदमा मकै पिसेर गाईवस्तुलाई तात्तातो कुँडो खुवाएर होस् वा हरियै अवस्थाको मकैलाई साइलेजको रूपमा उपयोग गरी, कैयौँ पशुपालक कृषकहरूले मनग्ये फाइदा लिएका दृष्टान्त पनि प्रशस्त छन् ।