चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा चार क्विन्टल भन्दा बढी सुन भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा चार हजार ४४.५ केजी सुन नेपाल भित्रिएको हो ।
उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ ।
सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।
त्यसबाहेक नेपालमा ९१.६५ केजी सुनका गरगहना समेत भित्रिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । २९ वटा देशबाट नेपालमा सुनका गरगहना भित्रिएको हो । वैदेशिक रोजगारबाट फर्केको नेपालीले ५० ग्रामसम्मको सुनका गरगहना निशुल्क ल्याउन पाउँछन् भने शुल्क तिरेर थप १०० ग्रामसम्म ल्याउने पाउने व्यवस्था छ ।
यो सूचीमा युएइ, कतार, हङकङ, अमेरिका र साउदी अरेबिया शीर्ष पाँच देशमा परेका छन् भने इजरायल, जापान, मलेसया, बेलायत, कोरिया, भारत, बहराइन, सिंगापुर, कुवेत, बेल्जियम, बुल्गेरिया, ओमान, क्यानडा, माल्दिभ्स, फिनल्यान्ड, केन्या, टर्की, अष्ट्रिया, ब्राजिल, चीन, लेबनान लगायतका २९ वटा देशबाट नेपालमा सुनका गरगहना आयात भएको देखिन्छ ।