मोरङको रंगेलीमा ६ वर्षअघि जसरी पनि कार्यक्रम गर्ने एमालेको जबरजस्ती र त्यसलाई कसैगरी रोक्ने तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हठका कारण हिंसा भड्किएको थियो ।
२०७२ साल माघ ७ गते एमालेको भातृ संगठन युवा संघ नेपाल अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शक्ती प्रदर्शन गर्ने तयारीमा थियो । यता, संविधान संसोधनको माग गर्दै सडक सङ्घर्षमा रहेको मधेसी मोर्चाले पनि सोही दिन कार्यक्रम राख्यो । मधेसी मोर्चाले रङ्गेलीको काली मन्दिरनजिकै आमसभा राख्यो । एमालेले इलाका प्रहरी कार्यालय नजिकै जनसभाका लागि मञ्च बनायो ।
दुवै पक्ष आफ्नो कार्यक्रम सार्न राजी भएनन् । मधेसी मोर्चाको प्रभावक्षेत्र रहेको रंगेलीमा झडप हुने आशङ्कामा कार्यक्रम रोक्न प्रशासन र अन्य राजनीतिक दलहरूले आग्रह गरेको भएपनि एमालेले टेरेन । कार्यक्रममा केपी ओली त आएनन् । जोखिम देखेर ओली कार्यक्रममा नआएपछि एमालेले तत्कालीन महासचिव ईश्वर पोखरेललाई ल्याएर कार्यक्रम गर्दा भएको झडपमा तीन जनाको ज्यान गएको थियो ।
कार्यक्रममा आएका एमाले कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरूले कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । कार्यक्रमा सुरु भएको केही समयपछि मधेसी मोर्चा र युवा संघका कार्यकर्ताबीच झडपलाई निययन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा तीन जनाले ज्यान गुमाए ।
ज्यान गुमाउनेमा सुनवर्षी नगरपालिका–७ का महादेव ऋषीदेव, सुनवर्षी–९ का शिवु माझी र रङ्गेली–६ का ६० वर्षीया द्रौपदीदेवी चौधरी रहेका थिए । उनीहरू मृतक तीनै जना मोर्चाका कार्यकर्ता थिए ।
मधेसी मोर्चाको आन्दोलन चलिहरको बेला मुलुकभर एमालेविरुद्ध आक्रोश थियो । किनकि, मधेश आन्दोलनलाई सबैभन्दा बढी दुर्वचन प्रयोग गर्ने नेता एमाले अध्यक्ष ओली नै थिए । २०७२ माघ ७ को त्यो घटनापछि मुलुकमा धेरै परिवर्तन आइसकेको छ । यद्यपि त्यो घटनाका पीडित र प्रभावितहरुलाई भने अझै पनि त्यो दिनले झस्काउँछ ।
अब, घटना भएको ६ वर्षपछि एमाले अध्यक्ष ओली रंगेली आउँदै छन् । ओली रङ्गेलीका मेयर दिलीप अग्रवाललाई एमाले प्रवेश गराउन आउन लागेका हुन् । एमाले मोरङ सचिव रूपेश खतिवडाका अनुसार दिउँसो ओली कार्यक्रम स्थलमा आइपुग्नेछन् । पार्टी प्रवेश र आमसभाको कार्यक्रम राखिएको उनको भनाइ छ ।
तथापि, एमालेले रंगेली घटनामा मारिएका परिवारको सम्झानामा कुनै कार्यक्रम राखेको छैन । यता, त्यो घटनाका पीडित र प्रभावित भने अहिलेसम्म एमालेले माफीसमेत नमागेको भन्दै रुष्ट छन् । यसपटक आउँदा ओलीले माफी माग्लान् कि भन्ने अपेक्षा उनीहरूको छ । प्रहरीले चलाएको गोली लागेर जितेन्द्र मण्डल, सत्यनारायण साह, जगरनाथ साह, सुवोध मण्डल, श्रवणकुमार मण्डल र प्रकाश ढकाललगायत घाइते भएका थिए ।