अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।
फाल्गुन ७ गते मूल्य समायोजन गरेपश्चयात रुस र युक्रेकबीचको तनावका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितेल १० रुपैयाँ ३० पैसा हवाई इन्धन ३ रुपैयाँ ३२ पैसा र एलपि ग्यास सिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको नेपाल आयल निगमले एक विज्ञप्ती मार्फत जनाएको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
आज जारी गरेको विज्ञप्तीअनुसार निगमले केही दिनमै मूल्य बढाउने बुझिएको छ । अहिले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ, डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम छ । खाना पकाउने ग्यासको मूल्य १ हजार ५७५ रहेको छ ।
आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ०८ पैसा र खाना पकाउने ग्यास सिलिन्डरमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ नोक्सानी रहेको बताएको छ ।
मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ ६९ पैसा नाफा छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ ६९ पैसा र अन्तराष्ट्रिय तर्फको हवाई इन्धनमा ४८ रुपैयाँ ४४ पैसा नाफा रहेको निगमका सह प्रवक्ता पुस्कार कार्कीले बताए ।