खोटाङको धार्मिकस्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षभित्र झण्डै दुई करोड रुपैयाँ बराबरको भेटी चढाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा एक करोड ९२ लाख ३७ हजार ४८८ रुपैयाँ, विदेशी मुद्दा र सुनचाँदी गरी लगभग दुई करोड भेटी जम्मा भएको हो ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५, ०७६/०७७ मा ५३ लाख ८९ हजार ८६९ र ०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय भएको हो ।
हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदी सुरक्षित छन् ।
त्यहाँ भारु १ लाख ८८ हजार ६३८, अमेरिकी डलर ९४, सिंगापुर डलर १०, भुटानी १ हजार २७१, हङकङ डलर २०, कतारी रियल २ र चाइनिज ऐन १४३ समेत चढाइएको पाइएको छ ।
भेटीबापत जम्मा भएको रकम हलेसी मन्दिर व्यवस्थापन समितिको माछापुच्छ्रे बैङ्कको हलेसी शाखामा खोलिएको खातामा मौज्दात रहेको जानकारी दिइएको छ ।
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा चाँदी ५१.२८ तोला र सुन ०.२१ तोला (टिका), ०७६/०७७ मा चाँदी २६.९९७ तोला, सुन १ तोला (औँठी), सुनको टिका ०.२७२ तोला तथा आर्थिक वर्ष २०७७/०७८ मा चाँदी १ केजी (बुनिया काँचो चाँदी), चाँदी ६६४.५७ ग्राम र सुन २१.२२ ग्राम (१ तोलाको सिक्री सहित) चढाइएका छन् ।
सडक बनाउनदेखि सिसिटिभी क्यामेरा हाल्न भेटीकै रकम खर्च गरियो : राई
खोटाङ हलेसी मन्दिरमा तीन वर्षमा एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ खर्च भएको देखिएपछि केटिएम दैनिकले हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईलाई टेलिफोन सम्पर्क गरेको छ । राईले मन्दिरमा जम्मा भएको भेटीबाटै सडक निर्माण र सिसिटिभी जडान गरिएको बताए ।
राईले भने सिसिटिभी जडान गर्नकै लागि नौ लाखभन्दा बढी खर्च भएको छ । पाँच लाख रुपैयाँ मन्दिर भित्रको सिँढी निर्माणमा खर्च भएको छ भने मन्दिरभन्दा तल रहेको पोखरी निर्माणमा साढे दुई लाख खर्च भएको छ ।
साप्ला चोकबाट मन्दिर आउने गोरेटो बाटोलाई ग्रामीण सडक बनाउनको लागि साढे तीन लाख खर्च भएको छ । उनले अहिलेसम्म केन्द्र, प्रदेश र स्थानीय तहले केही सहयोग नगरेको बताए ।
तलब भत्ता, कार्यालय सञ्चालन, सूचना तथा सञ्चार, मर्मत सम्भार, पानी विद्युत्, पूजा पाठमा लगायतमा ठुलो रकम खर्च हुने गरेको उनले बताए ।