बलात्कार आरोपमा मुछिएका अभिनेता पल शाहलाई मार्नेसम्मको प्लान भएको खुलासा भएको छ। शाहका म्यानेजर भनिएका कृष्ण जोशीले यस्तो खुलासा गरेका हुन्।
एक युट्युब च्यानललाई अन्तरवार्ता दिने क्रममा जोशीले मलगायत मेरो टिम (दुर्गेश थापा, सरोज वली, एक गायिका र सम्राट जोशी)ले षड्यन्त्र गरेर पल शाहलाई मार्ने प्लान बनाएको बताएका छन्।
पल शाहलाई दुर्गेश थापाले सिध्यादिम नै भनेको जोशीले दिएको अन्तरवार्तामा सुन्न सकिन्छ। ‘कुखुरा काट्दा त मान्छेले १२ पटक सोच्छ। तर हामीले त्यस्तो नसोची प्लान बनाएका थियौं।’
यस्तो प्लान बनाउनेमा पल शाहविरुद्ध उजुरी दिने गायिका पनि उपस्थित हुने गरेको जोशीको भनाइ छ। उनले भनेका छन्, ‘प्लान त यतिसम्म भएको हो कि। यो कुरा मैले नै पल दाईलाई भनेको हुँ। यस्तो यस्तो प्लान बनाएको छ भनेपछि उहाँले मलाई माफी दिनुभयो।’
आर्थिक प्रलोभनमै परेर यो खालको सेटिङ बनाएको जोशीले बताए। उनले भनेका छन्, ‘आर्थिक प्रलोभनको कारण हामीले यस्तो गरेका हौं। बीचमा व्यक्तिगत दुश्मनी थियो। व्यक्तिगत रिसिइबीका कारण हाम्रो टिमले नै बसेर यो खालको प्लान बनाएको हो।’
हामीले भनेको कतिपय कुरा नमानेपछि यो गेम खेल्न बाध्य भएका जोशीले बताए। ‘उहाँलाई डुबाउने षड्यन्त्र गरेका हौं। पल दाईको सफल व्यवसायलाई विफल बनाउन हाम्रो ठूलो हात छ।’
अहिले आएर आफूलाई पश्चाताप लागेको उनको भनाइ छ। ‘आफ्नै भाई भनेर प्रेम गरेर राखेको दाईप्रति यस्तो गलत काम गर्दा पश्चताप यसै हुन्छ नि,’ उनले भनेका छन्।
कानुनअनुसार कारबाही भोग्न तयार रहेको जोशीले बताएका छन्।
यस्तै १ करोडको बार्गेनिङ सरोज वली गरेको समेत उनले खुलासा गरेका छन्। ‘पल दाईसँग जुनचाहिँ एक करोड पलले दिएपछि केस मिलाउने भनेको कुरा छ त्यो सरोज र गायिका बीचको कुरा हो। अरु मलाई थाहा छैन्,’ उनले भने।
व्यक्तिगत रिसिईबीका कारण गायिकालाई अचानो बनाएर हामीले गेम बनाएर पललाई सिध्याउने रणनीति उनीहरुको रहेको भिडियोबाट प्रष्ट हुन्छ। उनले भिडियोमा भनेका छन्, ‘कतिपय कुरा बोल्न मिल्छ कतिपय मिल्दैन्। यो भन्दा पनि ठूलो अर्को कुरा छ। पछि बोल्छु।’