एउटी नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्।
पोखरा घर भएकी एक गायिकामाथि बलात्कार गरेको भन्दै उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका हुन्। ती गायिका १८ वर्ष मुनीकी भएकाले उनका बुबाले जाहेरी दर्ता गरेका हुन्।
विवाह गर्ने प्रलोभनमा पारेर जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पलको घर दाङ र गायिकाको घर पोखरा भएपनि अन्तिम घटनास्थल तनहुँ भएकाले तनहुँमा जाहेरी दर्ता भएको हो।
जाहेरी दर्ता भएलगत्तै पक्राउ गर्न खोजेकाे तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जनाएको छ।
हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए। स्राेतका अनुसार रिलिजको तयारीमा रहेको फिल्म ‘म यस्ताे गीत गाउँछु–२’ को प्रोमोसनमा उनी सहभागी भएका थिए।
तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन्।
उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ ।