आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा नायक पल शाहले मुख खोलेका छन् । फेसबुकमा उनले गायिका समिक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मीले आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।
भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा पनि शंका रहेको पलको दाबी छ । प्रविधिको प्रयोगमार्फत आफ्नो जस्तो आवाज बनाइएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’
उनी थप्छन्, ‘मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’