झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताएका छन् । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सरकारले संवेदनशील भई काम गर्ने बताए । सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने उनको भनाई छ । ‘सीमा शुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’ उनले भने ।
भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामी नारायण निर्माण सेवा प्रालिले एक करोड ३९ लाख १७ हजार पाँच सय ६४ रुपैंया ४२ पैसामा पाएको थियो ।
कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमा कुमारी गणेशलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
समारोहमा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।