झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । २०७८ श्रावणदेखि पुष मसान्तसम्म जिल्लामा विदेशबाट फर्किएका पाँच जनमाा कुष्ठरोग देखिएको हो ।
नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक/एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ ।
यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्”, उनले भने, “यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”
जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ बताउँछन् । तीमध्ये एक/एक बालक र बालबालिका छन् ।
कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।
यस रोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ ।
गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उनले भने, “यस वर्षपछि तीन/चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ । ”जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ ।
क्रस | आर्थिक वर्ष | कुष्ठरोग पहिचान हुनेको सङ्ख्या |
---|---|---|
१ | २०७५-०७६ | २१२ जना |
२ | २०७६-०७७ | १४० जना |
३ | २०७७-७८ | ९५ जना |
४ | २०७८-७९* | ३६ ( *श्रावणदेखि पुष मसान्तसम्म) |
जिल्लामा आव २०७५/०७६ मा २१२ , आव २०७६/०७७ मा १४० र आव २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको सङ्ख्या घट्दै गएको देखाउँछ ।
यसरोग निवारण अभियानमा जुटेकाहरू भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् । जिल्ला कार्यक्रम संयोजक पोखरेलले भने, “कोरोना कारण ‘केश फाइण्डिङ’ को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।”
जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको सङ्ख्या बढ्ने बताउँछन् । उनले भने, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउँछन् । “सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्”, उनले भने, “यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।”
छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उनले बताए ।
कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं. १ मा पहिलो हो । झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।
कुष्ठरोग के हो ?
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे किटाणुका कारण हुने संक्रमक रोग हो। यो रोगले मुख्य रूपमा छाला र स्नायुका टुप्पाहरू (विशेषगरी हात औँला) मा आक्रमण गर्छ। त्यसबाहेक, यसले नाकको भित्रि भित्ता तथा माथिल्लो श्वासनलीमा पनि संक्रमण गर्छ। यो रोगको किटाणुले संक्रमण गरेपछि र हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ र नचिलाउने दागहरु देखा पर्छन्। ती दागहरु छुँदा, चिमोट्दा थाहा नहुने, आगोले पोल्दासमेत पोलेको महसुस नहुने कुष्ठरोगका लक्षण हुन्।
कुष्ठरोग लागेपछि छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ। त्यसैगरी, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने, स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने हुन्छ। यो रोग लागेमा कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ। कम किटाणु भएमा ६ महिनासम्म र बढी किटाणु भएमा १२ महिनासम्म नियमित औषधि खुवाएर रोग निको पार्न सकिन्छ।
यो रोग लागेको ५ वर्ष, १० वर्ष कटेपछि मात्रै बिरामीहरु अस्पताल जाने गर्छन्। जनचेतना अभावका कारण मानिसहरु कुष्ठरोग लागेको सुरुको चरणलाई वेवास्ता गर्छन् र रोगले गम्भीर रूप धारण गरेपछि र शारीरिक रूपमा समस्या हुन थालेपछि मात्रै बिरामीहरू अस्पताल जाने गरेको चिकित्सकहरु बताउँछन्।