महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको छ ।
भारतबाट अवैद्य रुपमा मदिरा भित्र्याएर काठमाडौं उपत्यकामा कारोबार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
३९ वर्षीय बख्रेलसहित काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका–९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का बरामद गरिएको हो । महाशाखाले चारजनालाई पक्राउ समेत गरेको छ । काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट २९६ कार्टुन मदिरा बरामद गरिएको हो ।
बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराविरुद्धको अपरेसनलाई ‘अपरेसन लिमा’ नाम दिएको थियो ।
प्रहरीले बरामद भएको मदिराको गुणस्तर समेत परीक्षणका लागि पठाएको जनाएको छ । भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सो मदिराहरू पार्टी प्यालेसमा बढी बिक्री गर्ने गरेको खुलेको छ ।