काठमाडौं उपत्यकामा ५६ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका वा उपचारको लागि अस्पतालमा रहेका बिरामीहरूको सङ्ख्या काठमाडौं उपत्यकामा ५६ हजार ८८२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंमा ४१ हजार ६३३ भक्तपुरमा ५ हजार ५८१ र ललितपुरमा ९ हजार ६६८ सक्रिय सङ्क्रमित रहेका छन् ।
देशभर ८८ हजार ९३४ सक्रिय सङ्क्रमित हुँदा उपत्यका बाहिरका जिल्लामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा कम छ ।
५०० भन्दा बढि सक्रिय सङ्क्रमित रहेका जिल्लालाई रेड जोनमा राख्ने गरिन्छ । अहिले उपत्यकाका तीन जिल्लासहित १५ जिल्ला रेड जोनमा छन् भने अन्य १८ जिल्ला एल्लो जोनमा रहेका छन् । २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई एल्लो जोनमा राखिन्छ ।