हुन त महिनावारी प्रजनन उमेरका स्वस्थ महिलामा हुने प्राकृतिक चक्र हो । तर महिनावारीलाई नेपाली समाजले धर्मसँग जोडेर ‘पाप’को दर्जामा राख्छ । समाजले धर्मलाई देखाएर महिनावारी विभेदको अपव्याख्या गरिरहेको छ । महिनावारी भएको बेला बार्नुपर्छ, छुट्टै बस्नुपर्छ, धर्मले पनि महिनावारीको रगत अशुद्ध मान्छ भनेर गरिने महिनावारी विभेदको पछाडि अशुद्ध भन्ने सोच मुख्य हो । जसका कारण महिनावारीका बारेमा डर, मौनता, अज्ञानता जस्ता नकारात्मक प्रभाव परिरहेको हुन्छ ।
समाजमा अझै महिलाको कमजोरी एवम् पापका रूपमा यसलाई चित्रण गर्छ अनि महिनावारी भएका महिलालाई फोहोरीका रूपमा विभेद गर्छ । उल्लेखित विषयहरू पुरानो पुस्तालाई मात्र औँल्याउन खोजिएको छैन, नयाँ पुस्तालाई समेत ‘मेन्सन’ गर्न खोजिएको छ । किनकि, नयाँ पुस्तामा समेत यसप्रतिको अन्धविश्वास हट्न सकेको छैन ।
७० प्रतिशत किशोरीहरू महिनावारीको समयमा पढाइमा असफल देखिन्छन् । अहिले पनि क्यानडामा ६८ प्रतिशत महिलाहरू महिनावारी भएका बेलामा अफिस जाँदैनन् । त्यही महिनावारी २५ वर्षभन्दा कम उमेरका युवतीमा हुँदा, त्यो प्रतिशत बढेर ८३ प्रतिशत हुँदो रहेछ । यो समस्या नेपालमा पनि व्याप्त छ । यहाँ पनि महिनावारी भएका बेला घरभित्रै थुनिनु पर्छ भन्ने मान्यता आज पनि छ ।
जसरी नमस्कार भन्ने शब्दलाई नेपालकै भिन्न–भिन्न स्थानमा फरक–फरक शब्दले पुकारिन्छ उसैगरी नेपाली समाजमा महिनावारीलाई विभिन्न नाम दिइन्छ । ‘छुई हुनु’, ‘नछुने हुनु’, ‘पर सर्नु,’ ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु’, ‘सान्नानीलाई ज्वरो आउनु’, ‘छाउ’ आदि । नाम जस्तै होस् न विभेद त सबैतिर छ । चाहे त्यो रुकुमको दुर्गम ठाउँमा होस् वा पूरा देशलाई दोहोर्याउने नेतृत्वकर्ता बसेको ठाउँ काठमाडौँ होस् । चाहे सुदूर होस् वा युरोप, अमेरिका, अस्ट्रेलियातिर होस् । अशिक्षित र अर्धशिक्षितदेखि लिएर पूर्ण शिक्षित समाज, सबैतिर महिनावारी बार्ने अभ्यास संसारभर नै यथावत् छ र महिनावारी बार्नु नै विभेद हो ।
धेरैको कौतुहलता हुन सक्ला, नेपालमा वा नेपालीले मात्र बार्लान् महिनावारी । तर युरोप, अमेरिका, अस्ट्रेलियामा पनि उत्तिकै छ । त्यहाँ बस्ने नेपालीमा मात्र होइन, त्यहाँका स्थानीयमा पनि हुन्छ महिनावारी विभेद । अस्ट्रेलियाका २५ प्रतिशत किशोरीहरू महिनावारी सामग्री किन्न डराउँछन् । उनीहरू किनेर ल्याएका सामग्री लुकाएर ल्याउँछन् । १० जनामा ८ जना महिला महिनावारी भएका बेला चाहिने सामग्री किन्न लजाउँछन् । पौडी खेल्दैनन्, हल्का रङ्गको पोशाक लगाउँछन् ।
मदन पुरस्कार विजेता राधा पौडेल : जो समाजमा कहालीलाग्दो ‘महिनावारी विभेद’ देखेर मर्न गएकी थिइन् !
शिक्षित भइसक्दा पनि हाम्रो समाजमा महिलामाथि हुने विभेद, हिंसा, असमानताका ग्राफ...
शुक्रवार, पुस ९ २०७८७० प्रतिशत किशोरीहरू महिनावारीको समयमा पढाइमा असफल देखिन्छन् । अहिले पनि क्यानडामा ६८ प्रतिशत महिलाहरू महिनावारी भएका बेलामा अफिस जाँदैनन् । त्यही महिनावारी २५ वर्षभन्दा कम उमेरका युवतीमा हुँदा, त्यो प्रतिशत बढेर ८३ प्रतिशत हुँदो रहेछ । यो समस्या नेपालमा पनि व्याप्त छ । यहाँ पनि महिनावारी भएका बेला घरभित्रै थुनिनु पर्छ भन्ने मान्यता आज पनि छ ।
सहरमा मात्र होइन गाउँमा पनि, अनि अफिसमा मात्र होइन कृषि कर्ममा पनि । कृषिमा सबैभन्दा बढी काम गर्ने नै महिला हुन् । महिलाले महिनावारी भएका बेलामा बोटबिरुवा, बिरुवा छुन हुँदैन भन्ने मान्यता राखिन्छ । गाउँघरमा फलमा किरा लागेमा वा कुहिएमा पनि महिनावारी भएकी महिलाले छोएको भन्दै बोटै मास्न खोजिन्छ । यसैले त महिनावारीबाट त्रसित छन् महिलाहरू । खेतको काम गर्दा महिनावारी हुने महसुस भए पनि उनीहरूले चाँडोभन्दा चाँडो काम निम्त्याउनतिर लाग्छन् । फेरि काम गर्दागर्दै दिउँसै महिनावारी भएमा दिउँसो नै योबारे खुल्दैन । जबकि उनीहरूलाई त्यस बेला आराम चाहिएको हुन्छ ।
चाडपर्वमा उत्तिकै महिनावारीको डर । कतिले महिनावारी भएकै कारण दसैँ–तिहारमा आफन्त भेट्न पाउँदैनन् । कतिले तिहारमा आफ्ना दाजुभाइलाई टीका लगाउन पाउँदैनन् । महिनावारी भएका बेलामा टीका लगाउन हुँदैन भन्ने डरले महिलाहरूले महिनावारी रोक्ने औषधि सेवन गरिरहेका हुन्छन्, जुन स्वास्थ्यका लागि धेरै घातक हुन्छ ।
महिनावारी विभेद भन्ने बित्तिकै मान्छेहरू छाउगोठ मात्र भन्ने बुझ्छन् र मधेसमा छैन भन्ने दाबी गर्छन् मान्छेहरू । छाउगोठ त सरकारले भत्काइसक्यो भन्छन् र महिनावारी विभेद नै छैन भन्ठान्छन् । तर महिनावारी विभेद, जनकपुरमा छ, काठमाडौँमा पनि उत्तिकै छ । काठमाडौँले विभेद हटाएर मर्यादित महिनावारी बनाऔँ भन्नुपर्नेमा त्यहीँ पनि विभेद छ । काठमाडौँमा वसन्तपुरमा जन्मिएर हुर्केकी महिलाले महिनावारी भएका बेला एउटा सुकुल (गुन्द्री) मा सुत्नुपर्छ । जनकपुरकी महिलाले पनि महिनावारी हुँदा उस्तै विभेद सहनुपर्छ ।
हो, महिनावारी विभेद एकदमै जटिल छ । यसको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, प्राविधिक सबै पक्षबाट हेर्न जरुरी छ । पाँच दिनको मात्र कुरा गर्नु गलत हो, सरसफाइका कुरामा मात्र सीमित राख्न खोज्नु झन् गलत हो । बझाङजस्तो विकट ठाउँका महिलाहरू सफा सुग्घरमा ध्यान दिँदैनन् भनेर काठमाडौँमा बसेर दोष देखाउनु ठिक होइन । हो, उहाँहरूको गोठ र घर एउटै होला तर यहाँ समाजले घर–गोठलाई होइन, रगतलाई फोहोर मानेको छ । अपवित्र मान्दै त्यो रगतलाई विभेद गरेका हुन्, त्यो अवस्थालाई विभेद गरेका हुन् । तर महिनावारीलाई विभेद होइन, सम्मान गर्नुपर्छ र त्यो अवस्थालाई मर्यादित अवस्थाका रूपमा राख्नुपर्छ ।
सरकारले महिनावारी विभेद गर्नेलाई तीन महिना जेल, तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर यो कानुन प्रभावकारी हुन सकेको छैन । यो कानुनको प्रचार–प्रसार गर्ने, जनचेतना बढाउने र महिनावारी विभेद भएको घटनामा उजुरी परेमा कारबाहीको दायरामा ल्याउने काम सरकारले गर्नुपर्ने हो तर यतातिर सरकारको चासो छैन । त्यसबाहेक मुलुकमा रहेका २५ वटा मन्त्रालयहरूले ‘क्रस कटिङ’का रूपमा यो समस्याको रूपमा लैजानुपर्छ ।
राजनीतिक पार्टीहरू महिनावारी विभेदका बारेमा बोलेका छैनन्, यसले पनि मानव अधिकार हनन हुन्छ भन्नेतिर राजनीतिक पार्टीको ध्यान छैन । राजनीतिक पार्टीले आफ्नो घोषणापत्रमा महिनावारीका विषय समेट्ने र आचारसंहिता बनाएर काम गर्दा यो विभेद न्यूनीकरण गर्न सकिन्छ । महिनावारी विभेदले शक्ति र पितृसत्तात्मक समाज निर्माण गर्छ भन्नेतर्फ कसैको ध्यान छैन । ६ देखि ९ वर्षको उमेरमा बालिकाहरूले महिनावारीको बारेमा केही न केही कुरा थाहा पाइसकेका हुन्छन् । ६ देखि १२ वर्षको उमेरमा बालिकाहरूलाई महिनावारी भनेको अशुद्ध रगत बग्नु, आफू शक्तिविहीन, निम्छरो तथा सानो हुँ भन्ने बुझाइएको हुन्छ ।
महिलामाथि हुने असमानता, विभेद, बलात्कार, हिंसाजस्ता कुराहरू पनि महिनावारी विभेदबाटै उत्पन्न समस्याहरू हुन् । यसैले महिनावारी विभेदलाई मुक्त गर्नका लागि सन् २०१९ देखि नै मर्यादित महिनावारी दिवस मनाउन थालेका छौँ । महिनावारी विभेद अन्त्यका लागि नै दिवस मनाउन थालिएको हो ।
(सामाजिक अभियन्ता, लेखक तथा दक्षिण गोलार्दयीय मर्यादित महिनावारी सञ्जालकी संस्थापक अध्यक्ष राधा पौडेलसँग केटिएम दैनिकका मीनप्रसाद शर्माले गरेको कुराकानीका आधारित)