शिक्षित भइसक्दा पनि हाम्रो समाजमा महिलामाथि हुने विभेद, हिंसा, असमानताका ग्राफ घटेको छैन । तर त्यसविरुद्ध अहोरात्र खटिएका अभियानकर्मीतिर नजर पुगेमा हामी जोकोहीलाई लाग्न सक्छ, महिलामाथि समाजले हेर्ने दृष्टिकोणमा निश्चयनै परिवर्तन हुनेछ ।
त्यस्ता अभियन्ताको अभियानले महिलाका हरेक समस्याको हल दिनेछ र महिलाहरूलाई समाजमा समान हैसियतका साथ उठाउने छ । त्यस्तै एक अभियन्ता हुन्, राधा पौडेल । राधाका अनेकन परिचय छन्, लेखक, स्वास्थ्यकर्मी, अभियन्ता, अधिकारकर्मी । तर उनी आफ्नो परिचयमा एक नारीमात्र भन्न रुचाउँछिन् ।
तर सानामा भने उनलाई नारी शब्द मन पर्दैन थियो, छोरी मान्छे भएर जन्मिनुमा हीनतावोध हुन्थ्यो । चितवनमा २०३० सालमा जन्मिएकी उनलाई समाजको तत्कालीन अवस्था देख्ता छोरी भएर जन्मिएकोमा बडो दुःख लाग्थ्यो ।
उनलाई सधैँ लाग्थ्यो, महिला सधैँ पुरुषभन्दा तल्लो स्तरमा छ, जो थिचोमिचोमा पर्दापर्दै एकदिन संसारबाट लोप हुनेछ । ‘मेरी आमालाई छोरा पाएन भने नर्क जानुपर्छ भन्ने लाग्थ्यो, समाजले प्रतिपादन गरेको सिद्धान्त नै त्यहीँ थियो,’ उनी भन्छिन्, ‘आमा महिनावारी हुँदा उहाँले जहिल्यै महिनावारी भगवानको पापका कारण भएको उल्लेख गर्नुहुन्थ्यो । त्यसबेला नै म छोरा भएर किन नजन्मेको होला भन्ने प्रश्नले मलाई घेरिरहन्थ्यो ।’
तर पनि उनलाई आमा सधैँ नै पर सरे हुन्थ्यो जस्तो लाग्थ्यो । महिनामा पाँच दिन बुबाले पकाएको खाना उनलाई मिठो लाग्थ्यो । सोही कारण पनि उनी आमालाई सधैँ महिनावारी भइदियोस् भन्ने चाहिन्थन् । तर समाजले प्रतिपादन गरेको महिनावारी भगवानको पाप हो भन्ने सिद्धान्त आमाले सुनाइरहँदा उनलाई लाग्थ्यो कि सबै महिला पापी हुन् ।
महिनावारी भएपछि भान्सामा नछिर्ने, परपरै रहने, देउता कोठा नपस्ने, सँगै नसुत्ने, गुन्द्रीमा मात्रै छुट्टै सुत्ने, चार दिनपछि त्यो गुन्द्री सुनपानी छर्केर घाममा सुकाउनेलगायत आमाको क्रियाकलापपछि उनले बुझ्दै गइन्, यो त अपमान हो, विभेद हो, हिंसा हो, कुप्रथा हो ।
….अनि सुरु भयो उनको अभियान
समाज पढ्दै जाँदा उनलाई महिलामाथि हुने विभेदबारे ज्ञान भयो । पुरुष नै सर्वोपरि, महिला केही होइनन् भन्ने लागेपछि उनलाई बाँच्न मन लाग्थेन । हो, उनलाई मानवअधिकारसम्बन्धी ज्ञान थिएन । आवाज उठाउनसक्न क्षमता थिएन । घरकी ‘जिरे खोर्सानी’ भएपनि समाजका कुप्रथाविरुद्ध बोल्न सक्थिनन्, उमेर सानो थियो, ज्ञान थिएन । छोरी भएको हीनतावोध हुन्थो । मेलापात–स्कुल जाँदा पनि यही प्रश्नले घेरिरहेका कारण उनको मन झन्–झन् साघुँरो हुन्थ्यो ।
महिनावारीकै कारण आफ्नी आमाले ओछ्यान छोडेर गुन्द्रीमा बिताएको चिसो रात सम्झिन्थिन् । र, त्यसमा भविष्यकी आफूलाई राखेर कल्पिन्थिन् । यसैक्रममा उनलाई धेरै पढ्ने अनि महिनावारी विभेद हटाउने हुटहुटीले छोयो ।
यसैले पनि समाजमा महिलाको अवस्थाले आजित भएर उनी नौ वर्षको उमेरमा मर्नका लागि हिँडेकी थिइन् । तर उनी मर्न सकिनन् । मर्ने उनको योजना एकपटक मात्र होइन, पटकपटक असफल भयो । ‘पछि मैले पनि यसरी दुःख भोग्नुपर्छ भन्ने कल्पनामा म झन् दुःखी हुन्थेँ, बाँच्न मन लाग्थेन, यसैले पनि म मर्नका लागि हिँडेकी थिएँ । मर्न नसकेर बाँचेको मान्छे हुँ म’, उनी भन्छिन्, ‘त्यतिबेला मात्र सुन्ने हेर्ने र मनमै सीमित राख्नुपर्ने अवस्था थियो । अलि पछि भने मैले प्रश्न गर्न थालेँ, अहिले सम्झिँदा पनि लाग्छ म त्यतिबेला विद्रोही स्वभावकी थिएँ ।’
महिनावारीसम्बन्धी समस्या उनले गाउँमा अनेकन देखिन् । महिनावारीकै कारण विभेद र हिंसामा परेका महिलाहरूको अवस्था देख्थिन् । महिनावारीकै कारण आफ्नी आमाले ओछ्यान छोडेर गुन्द्रीमा बिताएको चिसो रात सम्झिन्थिन् । र, त्यसमा भविष्यकी आफूलाई राखेर कल्पिन्थिन् । यसैक्रममा उनलाई धेरै पढ्ने अनि महिनावारी विभेद हटाउने हुटहुटीले छोयो । अनि सुरु भयो, उनको अभियान, प्रश्न तेर्स्याउने सिलसिला ।
त्यसबेलासम्म उनले देखेकीमात्र थिइन्, महिनावारी विभेद । समाजमा रहेको कहालीलाग्दो महिनावारीको क्रुरतासँग डराउने गरेकी उनी १४ वर्षको उमेरमा पहिलो पटक पर सरिन् (समाजको भाषामा) । महिनावारी भएर छाउपडीमा बस्नुपर्दा पिन्जडामा थुनिएकी ‘मैना’जस्तै हुने डरका कारण उनी महिनावारी भएपछि घरबाट भागेकी थिइन् । पाँच दिनसम्म उनले दिदीको घरमा आश्रय लिइन् । उनले केही पनि बारिनन् । बरु पाँचाैँ दिनका दिन उनी भिनाजूसँग घर फर्किइन् । तर महिनावारी विभेदको डरका कारण उनले पाँच दिनसम्म घरबाहिर बस्नुपर्यो । घर जान नपाउँदाको पीडा अहिले सम्झिँदा उनको शरीरमा काँडा उम्रिन्छ ।
पढ्न पाएको बेला मदन पुरस्कार पाउँदा भन्दा खुसी
विद्रोही स्वभावकी भएकै कारण पनि उनले पढ्ने अवसर पाएकी थिइन् । त्यसबेला छोरीले पढ्नु हुँदैन भन्ने समाजको सिद्धान्तलाई तोड्दै उनका बुबाले पढाउने मनसाय बनाए । तर त्यसबेला अभिभावकले समाजसँग विद्रोह गर्दै पढायो भने पनि छोरी मान्छेका लागि एसएलसी भनेको पार हुन नसक्ने नदी साबित हुन्थ्यो । थप अध्ययन गर्न सम्भव थिएन ।
उनकी आफ्नै दिदीले पनि टेस्टको परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहे गर्नु परेको थियो । ‘त्यसबेला म र मेरी माइली दिदी सँगै पढ्थ्यौँ,’ उनी भन्छिन्, ‘हाम्रो परीक्षा भइरहेको थियो । जेठी दिदी टेस्ट दिने तयारीमा हुनुहुन्थ्यो । हामी बेलुका जाँच दिएर घर पुग्दा आमा रुँदै हुनुहुन्थ्यो । त्यसपछि मात्र हामीलाई थाहा भयो कि दिदी बिहे गरेर गइसक्नु भएछ । उहाँको बिहे त टेस्टको अघिल्लो दिन नै भयो ।’
घरिघरि घरमा बुबाले भनेको मानिनस् भने बिहे गर्दिन्छु भन्ने कुरा उठान गर्दा झसङ्ग हुन्थिन् उनी । समाज सुधार्न जस्तोसुकै विद्रोह गर्न तयार देखिएकी उनलाई बिहे भन्ने शब्दले पटक–पटक ठेस लगाउँथ्यो । ‘मसँग सँगै एक कक्षा पढेका केटी साथीहरूले आठ कक्षा पास नगरी बिहे गर्नु परेको थियो’, उनी भन्छिन्, ‘मैले पनि एसएलसी दिन पाउने कुरामा कल्पनै गर्न सकेको थिइनँ । तर एसएलसी पास गरेँ ।’
एसएलसी पास गरेपछि अब के पढ्ने भन्दा पनि कता पढ्ने भन्ने कुतुहलता आयो उनमा । केटाहरूले गाउँबाहिर डेरा गरेर पढ्दै गर्दा उनको मनमा भने पढ्न पाइँदैन कि ! भन्ने भयले डेरा जमाएको थियो । तर बुबाले बोलाएर उनलाई कहाँ पढ्ने भनेर प्रश्न गरेपछि भने उनी आश्चर्यमा परिन् । किनकि, त्यो प्रश्न उनका लागि अप्रत्याशित प्रश्न थियो । अब पढ्न नपाइने होला भन्ने भयका बीच बुबाको त्यस्तो प्रश्नले उनलाई अचम्ममा पार्यो । बुबाको प्रश्नले अचम्मित भएकी उनले बिस्तारै जबाफमा भनिन्, ‘फरेस्ट्री पढ्छु ।’ घरमा आमालाई औषधोपचार र बाबालाई घर व्यवहार सम्हाल्ने कुरामा सघाउन फरेस्ट्री पढ्ने निधो गरेकी उनलाई परिवारले असहज नहोस् भनेर नर्सिङ पढाउने निर्णय गर्यो ।
‘घरमा अफ्ठेरो थियो र फरेस्ट्री पढ्ने मनसाय बनाएकी थिएँ । नाम पनि निस्किएको थियो । बुबा मलाई पढाउनकै लागि पोखरासम्म पुग्नुभो । तर पछि असहज हुन्छ भन्ठानेर उहाँले नर्सिङ पढ्न आग्रह गर्नुभो । त्यसैले नर्सिङ पढेँ,’ उनी भन्छिन्, ‘पछि पोखरा नर्सिङ पढेर जुम्लामा जागिर खाँदैगर्दा लेखेको पुस्तकले मदन पुरस्कार जित्यो । तर पनि मलाई मेरो बुबाले पढ्न अनुमति दिँदा जतिको खुसी भने प्रतिष्ठित पुरस्कारले पनि दिएन ।’ उनले २०५९ सालमा जुम्लामा स्वास्थ्यकर्मीका रूपमा जागिर खाँदा लेखेको ‘नर्सिङ डायरी’ २०७० सालमा प्रकाशित भएको थियो । ‘खलङ्गामा हमला’ नामक पुस्तकले २०७१ सालको मदन पुरस्कार जितेको थियो । उनी मदन पुरस्कार जित्ने तेस्रो महिला हुन्, यसअघि पारिजातको ‘शिरीषको फूल’ले वि.सं २०२२ मा र झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ले २०६७ सालमा मदन पुरस्कार जितेको थियो ।
महिनावारी विभेद अन्त्य गर्न महिनावारी विभेदमै पिएचडी
लामो समय जुम्लामा एक स्वास्थ्यकर्मीको रूपमा काम गरिरहेकी उनी हाल भने महिला तथा बालबालिका मन्त्रालयमा विज्ञ सदस्यताका रूपमा कार्यरत छिन् । किताब लेख्ने उनको कार्यले निरन्तरता पाइरहेको छ । त्यसबाहेक महिनावारी विभेदसम्बन्धी विभिन्न पाँचवटा पुस्तक लेखेकी छन् । एउटा किताबको अनुवाद पनि गरेकी छन् । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी, (अ) पवित्र रगत, डिग्नीफाइड मिन्सुरेसनलगायत पुस्तक महिनावारी विभेदसम्बन्धी हुन् ।
जन्मिएदेखि हालसम्म पनि समाजमा महिनावारी विभेद कायमै रहेका कारण उनले महिनावारी विभेदमै पिएचडी गरिरहेकी छन् । अब केही महिनामा थेसिसको काम सकिएपछि उनले पिएचडीको प्रमाणपत्र पाउनेछिन् । देश–विदेशका विभिन्न युनिभर्सिटीमा अध्यापन गरिरहेकी उनी देश–विदेशका कुना–कुनामा गएर महिनावारीसम्बन्धी विषयमा सचेत बनाउँदै छिन् ।
त्यसअघि पनि पटक–पटक जागिर छोडेर महिनावारी विभेद अन्त्य गर्न विभिन्न संस्था खोलेर लागिपरेकी उनले देश–विदेशमा त्यसको विस्तार गरिरहेकी छन् । नेपालमा मात्र होइन विदेशतिर हुने महिनावारी विभेद अन्त्य गर्न उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग हातेमालो गरेर काम गरिरहेकी छन् । संसारैभरि समयअनुसारको छाउपडी रहेको भन्दै त्यसकोे अन्त्य गर्न लागिपरिरहेकी छन् । पहिले एक्लै महिनावारी विभेदविरुद्ध लडेको भएपनि पछिल्लो समय उनलाई साथ दिनेहरूको लर्को छ ।
समयसँगै फेरिएको महिनावारी विभेद, अमेरिका र अस्ट्रेलियामा पनि हुन्छ विभेद
लामो समयदेखि महिनावारी विभेद पढेकी उनी महिलालाई महिनावारीका बारेमा खुल्न सक्ने बनाएपनि समाज परिवर्तन गर्न नसकेको स्वीकार्छिन् । समाज शिक्षित भइसक्दा पनि धर्मको नाम दिएर महिनावारी भएकी महिलामाथि विभेद हुने गरेको उनको ठम्याइ छ । र यो अवस्था हुम्ला, जुम्लाजस्तो विकट ठाउँमा मात्र नभएर काठमाडौँ, अमेरिका अस्ट्रेलियामा समेत रहेको उनी बताउँछिन् । महिनावारी भएकी महिलालाई युरोप–अमेरिकातिर पनि भिन्दै राख्ने वा महिनावारी भएकी महिला स्वयम् खुल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘महिनावारी विभेद काठमाडौँमा छ, अमेरिकामा छ अस्ट्रेलियामा छ’, उनी भन्छिन्, ‘हो समयसँगै परिवर्तन भएको छ । तर भिन्दै प्रकृतिको विभेद सबैतिर छ । छाउपडी एउटा गोठमात्र होइन, यो त महिनावारी भएकी महिलामाथि हुने गरेको व्यवहार हो, यसमा महिनावारी भएका बेला फोहोर भएको भन्दै छुट्याउने कार्य हुन्छ । जबसम्म त्यो सोच परिवर्र्तन हुन सक्दैन, तबसम्म यसको अन्त्य हुँदैन ।’
काठमाडौँले मर्यादित महिनावारी बनाऔँ भनेर अभियान थाल्दा प्रभावकारी हुने भएपनि सोही स्थान यस्ता कुप्रथा चलिलिँदा महिनावारी विभेद हटाउन कठिन भएको बताउँछिन् उनी । पछिल्लो समय विभिन्न स्थानमा गएर महिनावारीसम्बन्धी ज्ञान बाँड्नेक्रमले गर्दा महिलाहरू भने यसबारे खुल्ने गरेको उनको भनाइ छ । जसरी नमस्कारलाई देश–विदेशका विभिन्न भागमा फरक–फरक भाषाले सम्बोधन गरिन्छ उसैगरी संसारका विभिन्न स्थानमा विभिन्न प्रकारका छाउपडी समस्या रहेको उनको तर्क छ ।
‘महिनावारी विभेद हटाउन सरकारको भूमिका महत्त्वपूर्ण’
नेपाल सरकारले २०७६ सालमा छाउपडी गोठ भत्काउँदै मर्यादित महिनावारीको देश बनाउने घोषणा गरेको थियो । संसारभरि नै मर्यादित महिनावारी बनाउने सरकारको यो घोषणाले नेपालको खुबै चर्चा भएको थियो । समाजले गोठ हटाएपनि महिनावारी विभेद व्यवहारबाट हटाउन नसक्दा भने सरकारले थालनी गरेको यो अभियान प्रभावकारी हुन सकेको छैन । हो, कानुन बनेको छ । सरकारले महिनावारी विभेद गर्नेलाई तीन महिना जेल, तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
तर यो कानुन प्रभावकारी हुन सकेको छैन । यो कानुनको प्रचार–प्रसार गर्ने, जनचेतनना बढाउने र महिनावारी विभेद भएकोे घटनामा उजुरी परेमा कारबाहीको दायरमा ल्याउने काम सरकारले गर्नुपर्ने उनको सुझाव छ । ‘नेपालमा २५ वटा मन्त्रालय छन्, यी सबै मन्त्रालयले महिनावारी विभेदविरुद्ध प्रभावकारी भूमिका निभाउन जरुरी छ’, उनी भन्छिन्, ‘त्यसबोहक राजनीतिक पार्टीहरू आफ्नो घोषणापत्रमा महिनावारीका विषय समेट्ने र आचारसंहिता बनाएर काम गर्नुपर्छ । त्यसकक्षा १ देखि नै पाठ्यक्रममा महिनावारी शिक्षा समावेश गर्नुपर्छ ।’
महिनावारी विभेदले शक्ति र पितृृसत्तात्मक समाजको निर्माण गरेको उनको भनाइ छ । यसैले पनि राजनीतिक पार्टीहरूले महिनावारी विभेद हटाउन पहलकदमी भूमिका खेल्नु पर्ने बताउँछिन्, उनी । महिलामाथि हुने असमानता, विभेद, बलात्कार, हिंसाजस्ता कुराहरू पनि महिनावारी विभेदबाटै उत्पन्न समस्याहरू रहेको बताउँदै उनले धर्मलाई देखाएर महिनावारी विभेदको अपब्याख्या गरिएको बताउँछिन् । धर्मले महिनावारीलाई विभेद नगर्ने भएपनि मानिसहरूले महिनावारी भएकी महिलालाई धर्मकै नाउँमा विभेद गरिरहेको बताउँदै उनी नागरिक आफैँ पनि महिनावारी प्राकृतिक हो भनेर सचेत हुनुपर्ने उनको भनाइ छ ।