नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यबाट दुर्व्यवहार भएको घटनाप्रति नेपल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकालाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार सङ्कलनमा रोक लगाएका थिए ।
समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।
‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार सङ्कलनमा सहज बनाइनुपर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय हुनाका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो, पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाचार संकलनमा अवरोध भएपछि फोटोपत्रकारहरूले सञ्चारसामाग्री सडकमै राखेर विरोध गरेका थिए ।