नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले आफू पत्रकार महासंघमा आबद्ध हुन्जेल अन्य कुनै पनि पार्टीको पदमा नबस्ने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय प्रचार विभाग सदस्यका रुपमा उनको नाम सार्वजनिक भएपछि उनले आफू कुनै पनि पदमा नरहेको स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेकपा (माओवादी केन्द्र) को केन्द्रीय प्रचार विभाग सदस्यकारुपमा मलाई नसोधिकन नाम समावेश गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघको महासचिव पदरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने कुरा जानकारी गराउँदछु ।’ गत चैतमा नेपाल पत्रकार महासंघको चुनावको बेलामा केटिएम दैनिकसँगको भिडिओ कुराकानीमा पुरीले पत्रकार आचारसंहिता विपरित कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका थिए ।
नेपाल पत्रकार महासंघको विधान अनुसार महासंघमा आवद्ध भएकाहरू कुनै पनि राजनैतिक दलको कुनै समिति वा पदाधिकारीमा बस्न पाइदैन । पत्रकार महासंघको विधानमा लेखिएको छ “महासंघको केन्द्रीय समिति प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन ।”
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महिला उपाध्यक्ष पदमा रहेकी बाला अधिकारीले दुई दिन अघि (मंसिर २० गते) आफू उक्त पदबाट राजीनामा दिने बताइसकेकी छिन् । नेपाली कांग्रेसको राजनीतिमा लाग्नको लागि उनले राजीनामा दिने बताएपनि पत्रकार महासंघमा उनको राजीनामा पत्र भने पुगेको छैन ।