नेपाल पत्रकार महासंघको उपाध्यक्ष पदबाट बाला अधिकारीले राजीनामा दिने भएकी छिन् ।
गएको चैत महिनामा भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा बाला अधिकारीले सर्वाधिक मत ल्याएकी थिइन् ।
अध्यक्षमा निर्वाचित भएका विपुल पोखरेलले ६ हजार ९ सय ४२ मत ल्याउँदा महिला उपाध्यक्ष पदमा विजयी भएकी बाला अधिकारीले ७ हजार २ सय २६ मत ल्याएकी हुन् । जुन अध्यक्षले पाएको मतभन्दा २ सय ८४ मतले बढी थियो ।
पत्रकारिताबाट राजनीतितर्फ लाग्नको लागि महासंघको उपाध्यक्ष पदबाट राजीनामा दिन लागेको अधिकारीले केटिएम दैनिकलाई बताइन् ।
नेपाल पत्रकार महासंघको विधान अनुसार महासंघमा आवद्ध भएकाहरू कुनै पनि राजनैतिक दलको कुनै समिति वा पदाधिकारीमा बस्न पाइदैन । पत्रकार महासंघको विधानमा लेखिएको छ “महासंघको केन्द्रीय समिति प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सोपदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहकोविभाग वा समितिमा रही काम गर्न पाउने छैन ।”
बाला अधिकारी नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ओखलढुंगा जिल्लाबाट संघीय महाधिवेशन प्रतिनिधि (खुला महिला तर्फ) निर्वाचित भैसकेकी छिन् ।