
झापाको दमक नगरपालिका–१० भएकी एक महिलाले माइतीलाई भिडियो कल गरेर विष सेवन गरेकी छन् । श्रेष्ठ थरकी महिलाले गत बिहीबार माइतीलाई भिडियोकल गरेर विष सेवन गरेकी थिइन् ।
सुरुङ्गा माइती भएकी उनले ‘घरतिर मलाई टर्र्चर दिए’ भन्दै विष पिएकी थिइन् । विष पिएको थााहा पाएपछि परिवारले उनलाई तत्काल बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याएका थिए । तर सोही दिन उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
उनको मृत्युपछि माइतीपक्ष छोरीको शव सनाखत गर्न अस्पतालसमेत गएको छैन र छोरीको शव उठाउनसमेत दिएको छैन । आत्महत्या गर्न बाध्य पारिएको भन्दै माइतीपक्षले प्रहरीमा जाहेरी दिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता चलाउने भएका छन् । उनीहरूले मङ्गलबार (आज) जाहेरी दिने तयारी गरेको बुझिएको छ ।
सोही विवादका कारण ती महिलाको शव विगत ६ दिनयता अस्पतालमा अलपत्र अवस्थामा छ । जबकि, बिएन्डसीमा शव राखेको दैनिक १८ हजार रुपैयाँ लाग्छ । वैदेशिक रोजगारीमा रहेका ती महिलाका पति नेपाल फर्किएको पनि चार दिन बितिसकेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्की माइतीपक्षको किटानी जाहेरी आइनसकेको बताउँछन् । जाहेरी नआएको अवस्थामा अनुसन्धान सुरु नहुने जनाउँदै उनले जाहेरीपछि पोस्टमार्टम गरेर अनुसन्धान थाल्ने बताए ।
प्रहरी स्रोतका अनुसार माइतीपक्षले ती महिलाको पतिविरुद्ध जाहेरी दिन लागेका छन् । विदेशमा रहँदा पनि टर्चर दिएर उनलाई आत्महत्या गर्न बाध्य पारिएको माइतीपक्षको आरोप छ ।