वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका रन्जन कुमार शाह अलपत्र परेका छन् ।
उनीहरू सिराहाका एजेन्ट रबिरन्जन कुमार गुरमेहेताले दुवइको एडिमन रक कम्पनीमा मासिक तलब १३ सय दिराम हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुवइ पठाएको अलपत्र मध्यका नरेश कुमार यादवले जानकारी दिए ।
उनीहरूलाई दुबई पुग्ने बित्तिकै त्यहाँको स्थानीय एजेन्ट दुर्गा राईले विमानस्थलमा भेट गरेको र उनीहरू सातै जनासँग प्रतिव्यक्ति पाँच सय डलर लिएर अर्का एजेन्ट चित्र नाम गरेको व्यक्तिलाई जिम्मा लगाएको तथा उनले पनि उनीहरुबाट पाँच सय डलर लिएर एउटा कोठामा रहेको नरेशले बताए ।
एजेन्ट गुरमेहेताले सरसफाईमा काम लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपैयाँ लिएर पर्यटक (टुरिस्ट) भिसामा पठाएको उनीहरूले बताएका छन् । अहिले आफूहरू सातै जनालाई एउटै कोठामा राखेको खाना समेत पर्याप्त नदिएको र कोठामा पनि बेड नभएकोले भुईँमा सुत्नु परेको उनीहरूले बताएका छन् ।
नेपालमा बाबुआमालाई एजेन्टको घरमा पठाउँदा उल्टै धम्क्याउने गरेको उनीहरूको गुनासो छ । उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।