फिल्म होस् वा गीत-संगीत, गतिलो प्रचार-प्रसार गरिएन भने चल्दैन । यसका लागि निर्माताहरुले आफ्ना सामाग्रीलाई दर्शकसम्म पुर्याउन मिडियाको साहरा लिने गर्दछन् । जसका लागि पत्रकार सम्मेलनको आयोजना गरिन्छ । केही वर्ष अगाडिसम्म फिल्मका मात्र पत्रकार सम्मेलन हुन्थे । अचेल फिल्मभन्दा ज्यादा म्यूजिक भिडियोको सार्वजनिक गर्न पत्रकार सम्मेलन हुने गरेको पाइन्छ ।
तर, पत्रकार सम्मेलनमा पत्रकारलाई प्रवेश नै गर्न नदिइ अपमान गरेको घटना भने आजसम्म भएको र देखिएको थिएन । शनिवार अभिनेता पल शाह अभिनीत एक गीतको म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रममा यस्तै भयो । सोल्टीमोडस्थित पाँचतारे होटल हायत प्लेसमा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पल शाह पनि उपस्थित हुँदै थिए ।
गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको बारेमा आएको खबरपछि पल पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको कुराले हायत प्लेस होटलमा सञ्चारकर्मीहरुको भीड लागेको थियो । तर, पलका नजिकका मानिने केही सञ्चारकर्मीबाहेक उक्त कार्यक्रममा अरुले प्रवेश पाएनन् । होटलको गेटमा बसेका गार्डले निमन्त्रणा कार्डविना प्रवेश गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिए ।
पलले गीतको निर्माण टिमलाई आफ्नो बारेमा नराम्रो नलेख्ने र आफू अनुकूल प्रश्न गर्नेलाई मात्र कार्यक्रममा बोलाउन पत्रकारहरुको नामलिस्ट नै दिएको र सोही अनुरुप गीतको टिमले सीमित पत्रकारलाई मात्र निमन्त्रणा कार्ड पठाएको बुझिएको छ । तर, पलको अनुहार खिच्न निमन्त्रणा कार्ड नभए पनि केही सञ्चारकर्मीहरु होटलसम्म पुगेका थिए । तर, होटलको गेटबाट भित्र छिर्न पाएनन् ।