चर्चित भारतीय बाबा गुरमित रामरहिम सिंहसहित अन्य पाँच दोषीलाई जन्मकैदको सजाय भएको छ ।
भारतस्थित पन्चकुलको विशेष अदालतले रन्जित सिंह हत्याकाण्डमा दोषी ठहरिएका डेरा सच्चा सौदाका प्रमुख बाबा गुरमित रामरहिमसहित अन्य पाँचलाई सोमबार करिब १९ वर्षपछि जन्मकैदको सजाय सुनाएको हो ।
दुई जना अनुयायीलाई बलात्कार गरेको अभियोगमा सन् २०१७ देखि जेलमा रहेका रहिमलाई भिडियो सम्मेलनमार्फत अदालतमा उपस्थित गराइएको थियो भने अन्य चार जना भौतिक रुपमा उपस्थित भएका थिए ।
जन्मकैदको सजायसँगै रामरहिमलाई अदालतले ३१ लाख भारतीय रुपैयाँ र अन्यलाई प्रतिव्यक्ति ५० हजार भारु जरिवाना सुनाएको छ । यसअघि बलात्कारको सजायसमेत भोगका गुरमित राम रहिम सिंहलाई अदालतले हत्यामा संलग्न भएको भन्दै अक्टोबर ८ मा दोषी ठहर गरेको थियो ।
आफूलाई गडफादर भनेर चिनाउने बाबा रामरहिमले १९ वर्षअघि अर्थात् सन् २००२ मा आफ्ना म्यानेजर रंजित सिंहको हत्या गर्ने षड्यन्त्र रचेका थिए । भारतको अनुसन्धान केन्द्र सिबिआईले रामरहिमलाई फाँसीको सजाय दिन माग गरेको थियो ।
अदालतको फैसलासँगै हरियाणाको पन्चकुला र सिर्सा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । रहिमका अनुयायीसमेत रहेका रन्जित सिंहको सन् २००२ मा गोली हानी हत्या भएको थियो । रन्जितले राम रहिमले महिलालाई यौन दुव्र्यवहार गर्दै आएको एक पत्रमार्फत खुलासा गरेका थिए ।